Loading...
Logo
Image

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिबाहेक अरु बस्न नपाईने

निर्वाचनको मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिबाहेक अरु बस्न नपाउने भएको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय निर्वाचन आयोगले गरेको हो ।

यस अघिका निर्वाचनमा राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने ब्यबस्था गरिएको थियो । यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो । प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिबाहेक अरु बस्न नपाउने ब्यबस्था आयोगले गरेको हो । 

निर्वाचन आयोगको कात्तिक २९ गते सम्पन्न बैठकबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन संसोधन सहित स्वीकृत निर्देशिका अनुसार प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको लागि पहिलो हुने निर्वाचण प्रणाली बमोजिम उम्मेदवारको तर्फबाट मात्रै सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरिएको छ ।

आयोगले उक्त निर्णयबारे निर्देशन सर्कुलर गरिसकेको छ । सर्कुलरमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ ले मतदान केन्द्रमा मतदान प्रतिनिधि राख्दा प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमका उम्मेदवारको तर्फबाट मात्र सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख सक्ने व्यवस्था गरेकोले सो बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’ 

निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली यसअघि आयोगले सार्वजनिक गरेको थियो । प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि ८ सय २५ सिटका लागि  चुनाव हुँदैछ । त्यसका लागि ११ हजार भन्दा धेरै उम्मेदवार  प्रतिस्पर्धामा छन् ।

Comments