Loading...
Logo
Image

चण्डीपूर्णिमाको अवसरमा पलाञ्चोक भगवतीमा बृहत साँस्कृतिक कार्यक्रम हुने

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ९ मा रहेको पलाञ्चोक भगवतीमा ‘बृहत सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । 
पलाञ्चोक भगवतीमा चण्डीपूर्णिमा हुने जात्राको अवसरमा यही बैशाख २९ र ३० गते ’बृहत सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको हो ।

 

अघिल्लो वर्षको चण्डीपूर्णिमाबाट पलाञ्चोक भगवती मन्दिरमा बृहत सांस्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । वडाभित्र रहेका कालिका युवा क्लब, एकता युवा क्लब, एकिकृत पहरी युवा क्लब, श्री पलाञ्चोक गैह्रीगाउँ युवा क्लब र धन्द्रेखोला नेवाः समाज आयोजनामा यो कार्यक्रम गर्न लागिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारि दिए । वडा कार्यालय प्रवर्धक रहेको यो कार्यक्रमको दोस्रो संस्करण हो । 


परम्परा अनुसार चण्डी पुर्णिमाको अघिल्लो दिन पलाञ्चोक भगवती मन्दिरमा भक्तजनहरु राती जाग्राम ब्रत बस्ने, भाकल गर्ने प्रचलन रहेकोमा पछिल्लो समय यो परम्परा लोप हुँदै गएपछि यसपटक भजन मण्डली ल्याएर रातभर भजन गरी बृहत् रुपमा दिप प्रज्वलन तथा आरती समेत गरिने आयोजकले बताएका छन् । बैशाख २९ र ३० गते ’बृहत सांस्कृतिक कार्यक्रम’ आयोजना गरि आन्तरिक पर्यटन प्रवर्धन गर्ने, परम्परागत कला संस्कृतीलाई नयाँ पुस्तासँग जोड्ने, भक्तजनहरुलाई मनोरञ्जन प्रदान गर्ने, स्थानिय चाडपर्वलाई जगेर्ना गरी पलाञ्चोक भगवती मन्दिरको प्रचारप्रसार गर्ने, स्थानिय कलाकारहरुको प्रतिभालाई उजागर गर्ने, कृषि तथा स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने, मौलिक कलाहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

पलाञ्चोक भगवती मन्दिर सम्वंत ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापना भएको हो । परापूर्व कालदेखि चण्डी पुर्णिमामा पलाञ्चोक भगवती र कालिका देविको दुई रथ बोकी बजार परिक्रमा गर्ने गरिन्छ । तीन दिनसम्म चल्ने जात्रामा पहिलो दिन साँझ बत्ती बाल्ने, दोस्रो दिन चण्डी पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गर्ने चलन रहेको छ । चण्डीपूर्णिमामा लाग्ने मेला भर्न काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशका विभिन्न भागबाट हजारौ भक्तजनहरु पलाञ्चोक भवगती मन्दिर पुग्ने गर्दछन् । 
चण्डी पुर्णिमामा आयोजना गरिने दोश्रो ‘बृहत सांस्कृतिक कार्यक्रम’को तयारीका लागि समिति तथा बिभिन्न उप समिति गठन गरि कार्य प्रारम्भ गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारि दिए ।

 

Comments