Loading...
Logo
Image

भूकम्पलाई चिट्ठी

विशाल मल्ल

भूकम्प तिमीलाई  सम्झना  छ ? आज धेरै पछि तिमीसँग साक्षात्कार गर्ने मलाई अवसर मिलेको छ । मलाई सम्झना छ, तिमी पहिलोपटक आएको २०७२ सालको पल । त्यो पलमा तिमीसँग  यादगार समय बिताएका थियौँ । तर, तिमी १३ वैशाखमा सिन्धुपाल्चोक र १९ जेठमा दोलखा आएका थियौ रे । तर, त्यो समय म पश्चिम नेपालगञ्जमा थिएँ । मैले समाचार साथीभाइबाट थाहा पाएको थिएँ । हाम्रो निकट भेट नभए पनि । तर, तिमी आएको १९ जेठको परकम्पको मैले महसुस  गरिरहेको थिएँ ।  

ठीकै छ । मेरो भाग्य कस्तो पो छ, तिमीसँग भेट हुन्छ हुँदैन । भगवान् भरोसा । अनि तिमीलाई धेरै कुरा सुनाउनु थियो । सिन्धुपाल्चोक र दोलखाका बासिन्दाहरू तिमीलाई बिर्सिनै सकेका छैनन् नि । थाहा छ तिमीलाई ? तिमी अचानक आउँदा, कोही सुतिरहेका थिए, कोही घरमा कामकाजमा व्यस्त रहेछन् । त्यसैले स्वागत गर्नै पाएनन् । तिमी  आउनेबारेमा जानकार भए, तिमीलाई स्वागत गर्न गाउँले सबै जना ठूलो चौरमा भेला हुने थिए । तर, त्यतिबेला सिन्धुपाल्चोक, दोलखा र गोर्खाका कैयौँ बासिन्दाले अब तिमीलाई स्वागत गर्नै नपाउने भए । किनकि उहाँहरू अहिले परलोकमा हुनुहुन्छ । के तिमी परलोकमा पनि  गएका छौ र ? अनि सिन्धुपाल्चोक, दोलखा, गोर्खा र अन्य ठाउँका घरहरूले तिमीलाई स्वागतका लागि थाम्नै सकेनन् । सबै भग्नावशेष भए । अनि त्यहाँका बासिन्दाहरू तिमी अन्य ठाउँमा अन्य देशमा गएको तिम्रो समाचार आउँदा भावुक हुन्छन् ।  तिमी उहाँहरूको दिलमा, मानसपटलमा अमर छौ ।  

अनि तिमीले मलाई २०७९ सालमा नेपालगञ्जमा नभेटी त्यही बाटोहुँदै जाजरकोट पुगेछौ है ? त्यो बेला तिमी आएको महसुस नै भएन । सायद त्यसैले होला, नभेटी गएको है ? तिमी जाजरकोट पुगेपछि बल्ल मैले समाचार पढेर थाहा पाएको हुँ । अनि त्यस समय तिमीले अन्याय गरेको पक्कै होइन रहेछ । किनकि पूर्वमा तिमी त्यसअघि नै भ्रमण गरिसकेका थियौ ।

जाजरकोट केन्द्रविन्दु

प्यारो भूकम्प, तिमीलाई थाहै छ । जाजरकोट र रुकुममा तिमीले भ्रमण गरेपछि केही सकारात्मक परिवर्तन पनि भएको छ नि । भूकम्प प्रतिरोधात्मक घरहरू अर्थात् तिमीलाई स्वागत गर्दा तिमीलाई थाम्न सक्ने घरहरू निर्माण गर्न सुरु भइसकेका छ्न् । २०७२ मा तिमी आएर जाँदा नेपालभर नै भूकम्प प्रतिरोधात्मक घर बनाउने, अभियान नै सुचारु भइसकेको छ ।

तिम्रो भ्रमण नहुँदा खाने पानीको साह्रै दु:ख थियो । पानी लिन गाग्री बोकेर धेरै पर जानुपर्थ्यो । अशुद्ध पनि थियो । तिम्रो भ्रमणपश्चात् प्रभावित गाउँमा  हरेक घरमा 'एक घर एक धारा' कार्यक्रम नै सञ्चालन भएको छ । यसको अर्थ हो, सुधारिएको र शुद्धीकरण गरिएको पानी, पानी बोक्न धेरै टाढा नजानुपर्ने अवस्था पनि  सिर्जना भएको छ । धन्यवाद तिमीलाई !

जागिरको अवस

प्यारो भूकम्प, तिम्रो कारण मैले रोजगारको अवसर पनि पाएँ । २०७२ सालको भूकम्पमा पुनर्निर्माण प्राधिकरणअन्तर्गतको विद्यालय भवन पुनर्निर्माणमा अवसर र अनुभव प्राप्त गरेँ । अनि २०७९ को भूकम्पमा खानेपानी क्षेत्रमा वास कार्यक्रमअन्तर्गत अवसर र अनुभव मिलेको छ । हार्दिक आभार भूकम्प तिमीलाई ।

२०७२ सालपछि पनि तिमी पटकपटक ४ रेक्टर स्केलमा २३८ पटकभन्दा बढीसम्म आइरहेकै छौँ ।  कतिपय समय याद भयो र कतिपय अवस्थामा भएन ।  त्यसपछिका दिनहरूमा तिमी अलि निकट भएर आएनौ ।  सायद अन्त व्यस्त थियौ होला । अन्तर्राष्ट्रिय मिडियामा तिमी अन्य देशमा भ्रमण गरेको समाचार सुनिरहेको पनि  हुन्थेँ । स्मरणमा आउने गर्थ्यौ ।

भाग्यशाली देशहरू

यी देश साँच्चै कति भाग्यशाली छन् । साउदी अरब, कतार, एस्टाेनिया, फिनल्यान्ड, माल्टा, नाइजेरिया, स्विट्जल्यान्ड, आइसल्यान्ड र बारबाडाेस । टेक्टोनिक प्लेटहरूको किनाराबाट टाढा रहेका क्षेत्रमा पर्ने भएकाले यी देशहरू भूकम्पको न्यून जोखिममा रहेछन् ।

हामीसँग कोरोना पनि आएको थियो । लामो समय सँगै बस्यो र हाम्रो प्यारो बनेर मानसपटलमा अमर रह्यो , तिमीजस्तै प्यारो बनेर । मैले त अझै बिर्सन सकेको छैन नि कोरोनालाई ।  

२३ पुस, आज बिहान 
    
२३ पुस, आज बिहान तिमीसँग धेरै समयपश्चात् भेट हुन पुग्यो । थाहा नदिई आउने तिम्रो बानी पनि कहिल्यै नहट्ने भयो । रातमा ढिलो सुतेकाले तिमी आउँदा म बेडमै थिएँ । सायद आज अलिक लामो समय नै आयौ तिमी । साक्षात्कार गर्ने अवसर जुर्‍यो । आज तिमी आएकाले जनमानसले फेरि सतर्कता अपनाउने बोधार्थ भएको छ ।

विशेषत: तिमीलाई स्वागत गर्न मिल्ने थाम्न मिल्ने घर, अर्थात् भूकम्प प्रतिरोधात्मक घर बनाउन हिचकिचाउनेहरूले पनि अहिले सतर्कता अपनाइरहेका छन् । तिम्रो भ्रमणको अर्थ र महत्त्व सबै देशवासी, विश्ववासीहरूले बुझून्, यस कारण पनि तिमी भ्रमणमा आइरहनू, बेलाबेलामा सम्झाइराख्नू । तर लामो समयसम्म आजको जस्तो  साक्षात्कार गर्ने अवसरचाहिँ आजलाई अन्तिम बनाउनू । हस् प्यारो भूकम्प !

उही तिम्रो...

Comments

KATHMANDU WEATHER