Loading...
Logo
Image

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिएका छन् । संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले त्यसको उद्घाटन गरेका थिए ।

स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जिप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालनमा आएका छन् ।

पालिका अध्यक्ष चौलागाईंका अनुसार सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नम्बर ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा एक करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ ।

Comments